भ्रष्टाचारविरूद्ध सतिसालझैं उभिन्छु : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् । बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताए ।

उनले भने, “सरकारको नेतृत्व लिएदेेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही शुरू भएको छ । ललिता निवासको फाइल फेेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै गएको बताए । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं । तर पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो” उनले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ ।”

उनले २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुने गरी परिणाम दिने दाबी गरे । “घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियोे” उनले भने, “यो आफैमा वर्गसंघर्ष हो। वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो । २०८४ को निर्वाचनमा २०६४ भन्दा शक्तिशाली हुने गरी परिणाम दिनुपर्छ, दिन्छौं।”

प्रधानमन्त्री प्रचण्डले इतिहासको तागतको बलमा आफूहरु सरकारमा रहेको र कतिलाई यो कुरा नपचेको बताए । “इतिहासको तागतको बलमा हामी सरकारमा छौं, कतिलाई यो कुरा पचिरहेको छैन । भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्,  हैरान र परिसान छन् । तर हामी देश र जनताको पक्षमा लागिरहन्छौं । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सम्पूर्ण रूपले समर्पित हुन्छौं । सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर तिनीहरूलाई जनताले नै ठीक पार्छन्,” प्रधानमन्त्रीले भने ।

Leave A Reply

Your email address will not be published.