वैदेशिक लगानीकाे प्रवर्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

0

चीन  \ उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्धन एवम् संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटन सत्रलाई बिहीवार सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।’

नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हाम्रो कर स्ल्याबहरू सबभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।’ उहाँले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पार्नुभयो ।

वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।’ पछिल्लो समय सुधार भएका कानुनले व्यवसाय प्रवर्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उहाँले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति लिइएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.