यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल

0

काठमाडौं \  कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने बताउनुभएको हो । हाल देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भुसालले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताउनुभयो । मन्त्री भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताउनुभयो ।

मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडी बढाएको बताउनुभयो । उहाँले हालसम्म ६ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिनुभयो । ३ लाख ५४ हजार ५७३ पशुभने लम्पिस्किन रोगबाट निको भइसकेका बताउनुभयो । उहाँले २ लाख ३५ हजार २१९ पशु अझैपनि संक्रमित अवस्थामा रहेका बताउनुभयो ।

मन्त्री भुसालले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताउनुभयो । उहाँले हालसम्म ७ लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म १ लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.