एनआरएनए युकेले प्रकाशित ग-यो निर्वाचन तालिका

0

लन्डन – गैर आवासीय नेपाली संघ युकेको निर्वाचनको तयारी तीब्र भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको तालिका अनुसार जुन २५ का दिन दिउँसो १ बजे मतदाता नामावली प्रकाशित गरिने छ भने सोही साँझ ६ बजे मतदाता नामावलीमाथि दावी विरोध र त्यसको २ दिन पछि २७ जुनको साँझ ६ बजेसम्म अन्तिम नामावली एनआरएनए युकेको वेबसाइटमार्फ प्रकाशित गरिने निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए ।

ढकालको संयोजकत्वमा हरि गुरुङ र विपिन निरौला सदस्य रहेको निर्वाचन समिति रहेको छ । निर्वाचन समितिले काम गरिरहेको संयोजक ढकालले बताए ।
निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अघि बढाए पनि एनआरएनए युकेका अगुवाहरुले सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भने गरेको बुझिएको छ ।

तर, निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदानसम्मको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । उम्मेदवारी दर्ता जुलाई १ मा हुने छ । त्यसका लागि दिउँसो ३ बजेसम्मको समय दिइएको छ । २ जुलाई दिउँसो १ बजे उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरिने छ भने सोही दिन अपरान्ह ५ बजेसम्म दावी विरोधको सूचना दिने समय निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली जुलाई ४ मा प्रकाशित गरिने छ भने उम्मेदवारले आफ्नो प्रचार प्रसारका लागि १८ दिनको समय पाउने छन् ।

२२ जुलाईका दिन बिहान १२ बजेदेखि राति ६ बजेसम्म मतदानको समय तोकिएको छ ।
२३ जुलाईमा मतपरिणाम घोषणा गरेर प्रमाणपत्र वितरण तथा सपथ ग्रहणको कार्यक्रम पनि रहेको छ। यसैगरी समन्वय परिषदको कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शुल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ ।

यसैगरी सचिव, कोषाध्यक्ष तथा विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सह कोषाध्यक्षको उम्मेदवारले भने ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ ।

Leave A Reply

Your email address will not be published.