बजेट नसच्याए सरकार ढल्छ : माधव नेपाल

0

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भए पनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशय व्यक्त गर्नुभएको हो । उहाँले बजेटमा सबै जना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिनुभयो ।

अध्यक्ष नेपालले बजेट तीन वटा जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आउनुभएको छ । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ । सत्तापक्षकै सांसदहरूले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आमनागरिकमा आशङ्का उत्पन्न भएको छ ।

उहाँले भन्नुभयो, ‘बजेटप्रति साथीहरू सबै असन्तुष्ट नै हुनुहुन्छ । अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई सच्याउनुपर्छ । मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ । यो सरकार ढल्न दिनु हुँदैन, पाँच वर्षसम्म यो गठबन्धन चल्छ ।’

Leave A Reply

Your email address will not be published.