भारतलाई गगनको जवाफ- ‘नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने हक राख्छ’

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पनि ग्रेटर नेपालको नक्सा बनाउने हक भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले  यदि अर्को देशले सांस्कृतिक नक्सा बनाएर मेरो यो हो भन्ने हक राख्छ भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउने र त्यसबारे चिन्तन गर्ने हक राख्ने बताए ।

उनले भारतको संसद भवनमा राखिएको नक्सा सांस्कृतिक मात्र मान्न हो भने नेपालले पनि ग्रेटर नेपालको नक्सा बनाउँदा सहजतापूर्वक स्वीकार गर्नुपर्ने बताए ।

महामन्त्री थापाले लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि भएको र यो भारतले फिर्ता गर्नुपर्ने बताए । लिम्पियाधुरा, लिपुलेक नेपालले साट्नेलगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण नरहेको बताए ।

महामन्त्री थापाले नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न नपाउने समेत स्पष्ट पारे ।

यस्तै महामन्त्री थापाले कांग्रेसलाई ठिक ठाउँमा उभ्याउने कुरामा पार्टी सभापतिले गम्भीरताका साथ सोच्नुपर्ने बताए ।

कार्यकर्ता तहमा आक्रोस बढ्दै गएको कुरालाई पार्टी नेतृत्वले समयमै सच्याएर अघि नबढे प्रकारान्तरमा पार्टीलाई नै अहित हुने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.