भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित तीन जनाको बयान सकियो

0

काठमाडौँ \  नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार टोपबहादुर रायमाझीसहित तीन जनाले काठमाडौँ जिल्ला अदालतमा बयान दिएका छन् । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बिहीबार बयान दिएका हुन् ।

टोपबहादुर पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव हुन् । उनी नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य योजनाकारमध्ये एक रहेको भन्दै मुद्दा प्रक्रिया अघि बढाइएको हो ।

यस्तै शेर्पा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । मियाँ भने हज समितिको अध्यक्ष हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले बयान दिन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनले बयान दिन बाँकी छ । उनीहरुको बयान शुक्रबार लिइने भएको छ ।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।  यो प्रकरणमा ३० जना प्रतिवादी रहेकोमा १८ जना पक्राउ परेका छन् भने १२ जना अझै फरार छन् । बिहीबारसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् ।

Leave A Reply

Your email address will not be published.