नेपाली कांग्रेसद्वारा सगरमाथा आरोही बुढामगरलाई सम्मान

0

काठमाडौं \  नेपाली कांग्रेसले दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी सभापति शेरवहादुर देउवाले सगरमाथाका सफल आरोही बुढामगरलाई सम्मान गर्नुभएको हो । बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट मगरलाई सम्मान गर्दै सभापति देउवाले दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथाको सफल आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताउनुभयो ।

दुवै खुट्टा गुमाएर पनि हरेस नखाइ सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै सभापति देउवाले यो कुनै पार्टीको मात्रै नभइ देशकै लागि गर्वको विषय भएको बताउनुभयो ।

सम्मानग्रहणपछि प्रतिक्रिया दिँदै आरोही बुढामगरले अबको आफ्नो काम शारीरिक अशक्त भएकाहरुका लागि बाधा पर्ने कानूनहरुको अड्चन फुकाउन पहल गर्नु रहेको बताउनुभयो । सरकारले शारीरिक अशक्त भएकाहरुलाई कानूनमा सहजता दिए आफ्नो सहयोग सदैव सरकारप्रति रहने उहाँको प्रतिवद्धता छ ।

सोही अवसरमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुमा धेरै असर पुगेको भन्दै बचाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave A Reply

Your email address will not be published.