शरणार्थी प्रकरणमा संलग्न घरको होस् कि बार्दलीको मान्छे होस्, कोही छुट्नु हुँदैन : गगन थापा

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार संसदमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले नक्कली शरणार्थी प्रकरण राज्यविरुद्धको अपराध भएकाले यसमा संलग्न एक जना मान्छे पनि छुट्न नहुने बताएका हुन् ।

महामन्त्री थापाले यस प्रकरणमा संलग्न चाहे घरको मान्छे होस् वा बार्दलीको, कोही पनि छुट्न नहुने बताए । नक्कली भुटानी शरणार्थी प्रकरण सरकारको परीक्षा भएको भन्दै उनले सरकारले नाम मुछिएका जोसुकैमाथि अनुसन्धान गर्नुपर्ने दोहोर्‍याए ।

उनले भने, ‘सरकारको परीक्षा सकिएपछि न्यायालयको परीक्षा सुरु हुन्छ । न्यायालयले पनि मैले न्याय गरेँ भनेर मात्र पाउँदैन, न्यायको अनुभूति हुनुपर्छ । यो राज्यविरुद्धको अपराधमा संलग्न भएको एक–एक मान्छे, चाहे घरको मान्छे होस्, चाहे बार्दलीको मान्छे होस्, चाहे नेता होस्, चाहे नाता होस्, चाहे सलाम गर्ने होस्, चाहे सलामी लिने होस् । एक जना मान्छे पनि छुट्नु हुँदैन ।’

यस्तै महामन्त्री थापाले सरकारको नीति तथा कार्यक्रम ल्याउने समय, तरिका र समेटिने अन्तर्वस्तुमा परिवर्तन गरिनुपर्नेमा जोड दिए ।  उनले जारी छलफलबाट अर्को वर्ष ल्याइने नीति तथा कार्यक्रममा सुधार गरिनुपर्ने बताए।

Leave A Reply

Your email address will not be published.