गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा आउंछ : अध्यक्ष आचार्य ,

0

लन्डन (जीएनएन) –  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई जति सक्दो चाँडो कार्यान्वयनमा ल्याउन आआफ्नो ठाउंबाट सक्दो पहल गर्न सबै एनआरएनहरुलाई  आग्रह गरेका छन् । उनले वातावरण सकारात्मक रहेको तर हात बाँधेर बस्ने स्थिति नरहेको बताए । 

पर्वत वेलफेयर सोसाइटी यूकेद्वारा आइतबार अल्डरशटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौँमा भेटेर स्मरण गराएको बताए ।

‘मैले प्रधानमन्त्रीज्यूसंग सशक्त रुपमा एनआरएनए नागरिकता विधेयक पारित गर्ने प्रक्रिया अगाडी बढाउन माग गरेको छु । उहांले तीन महिना समय दिन भन्नुभएको छ,’ आचार्यले भने । यस अघि प्रधानमंत्री दाहालले ६ महिना भित्र नागरिकता विधेयक पारित गरिने सार्वजनिक रुपमा बताएका थिए।

 “तर हामीले संसदको आगामी वर्षे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन आग्रह गरेका छौं,” आचार्यले भने। उनले यसअघि संसदले दुइ, दुइ पटक पारित गरेर पठाएको नागरिकता विधेयक निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी दिंदा संसारभरिका गैरआवासीय नेपालीहरु दुखी भएको बताए। तत्कालिन राष्ट्रपति भण्डारीले संविधानको ठाडो उल्लङ्घन गरेको भनी चौतर्फी आलोचना भएको थियो।

‘कतिपय साथीहरुले एनआरएन नागरिकताबारे भ्रम सृजना गरिरहनु भएको छ । कृपया त्यस्तो नकारात्मक प्रचार नगरौं,’ आचार्यले भने ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले २१ वर्ष अघि स्थापित पर्वत समाजले गरेका सामाजिक कार्यहरुको तारिफ गरे ।

राजदूत आचार्यले समाजलाई विशेषगरी दुई महत्वपूर्ण दीर्घकालिन काम गर्न पनि सुझाए । पहिलो, नयां पुस्तालाई नेपालसंग जोड्ने कार्यक्रम ल्याउन र अर्को पर्वत पर्यटकीय जिल्ला भएकाले पर्यटकीय आकर्षणबारे बेलायतीलाई आआफ्नो तर्फबाट प्रचारप्रसार गर्न उनको आग्रह थियो ।

नेपाली कला, संस्कृति र परसम्परा जगेर्ना गर्ने कार्यमा समेत सदैव लागिरहन राजदूत आचार्यले अनुरोध गरे।

समाजकी अध्यक्ष अप्सरा गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा पर्वत वेलफेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्ष दधि आचार्य, निवर्तमान अध्यक्ष नेत्र आले लगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा समाजले पर्वतमा जन्मिएर बेलायतमा सामाजिक क्षेत्रमा सक्रिय पांच जना व्यक्तित्वलाई सम्मान गरेको थियो। । उक्त सम्मान पाउनेमा समाजका संरक्षक रविन्द्रजंग लामिछाने, संरक्षक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, तमुधिं यूके अध्यक्ष हरि गुरुङ र थर्क राना छन् ।

Leave A Reply

Your email address will not be published.