ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

0

काठमाडौँ, ६ असोज । बेल्जियमको ब्रुसेल्समा आगामी मङ्सिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार तथा सोसम्बन्धी भएका विवादलाई निस्तेज पार्नु र बेल्जियममा बुद्धको दर्शनलाई आधिकारिक मान्यता दिलाउने उद्देश्यले लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको आयोजनाबाट नेपालको पर्यटन प्रवद्र्धनमार्फत देशको अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पार्ने अभियानले विश्वास लिएको छ । सम्मेलनको लागि ठूलो बजेट आवश्यक पर्ने देखिएकाले अर्थ सङ्कलनलाई प्रभावकारी तरिकाले अघि बढाउन आइतबार ब्रुसेल्समा छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले दिनुभयो ।
सो अवसरमा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सल्लाहकार युवराज गुरुङले सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्न सकेमा नेपाल र बेल्जियमवासी नेपालीको प्रतिष्ठा बढ्ने बताउनुभयो । सम्मेलनको मूल आयोजक समितिमा केही बेल्जियम नागरिकलाई समेत संलग्न गराउने प्रयासस्वरुप गैरआवासीय नेपाली सङ्घ बेल्जियमका संस्थापक अध्यक्ष तथा बेल्जियम–नेपाल मैत्री सङ्घका उपाध्यक्ष रवीन्द्रमान श्रेष्ठको नेतृत्वमा उपसमिति चयन गरिएको आचार्यले जानकारी दिनुभयो ।
छलफल कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष गङ्गाधर गौतम, नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष चित्र सुवेदी, नेपाली समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद रेग्मी, बेल्जियम–नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य सिपी भट्ट, तमु समाज, बेल्जियमका अध्यक्ष जीवन गुरुङलगायतको सहभागिता थियो । उक्त सम्मेलनको लागि झन्डै ५० हजार युरो लाग्ने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.