काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
पेटमा देखिएको इन्फेक्सन ठिक नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको हो ।
मंगलबार बेलुकी मात्र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्लीको एम्स अस्पताल लगिएको हो ।
राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।
इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।