बेल्जियमको नेपाली मेलामा नेपालीहरु संगै नाचे बेल्जिक नागरिक, नेपाली नयाँ बर्ष मनाउदै सम्पन्न भयो नेपाल महोत्सब,

0
      गैरआवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको नेपाल फेस्टिबल नेपाली मेला बेल्जियमको  लुभेन शहरमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली राजदुताबास बेल्जियम सन्योजन र बेल्जियममा सकृय नेपाली संघ सँस्थाहरु सहआयोजक रहेको नेपाली मेलाको बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानीले पानसमा दीप प्रज्वलन गरी संयुक्तरुपमा उद्घाटन गर्नु भएको थियो । 

प्रमुख अतिथि लुभेन नगरपालिकाका मेयर मोहम्मद रिदवानीले बेल्जियम र नेपालीको सम्बन्ध निकै गहिरो रहेको बताउँदै नेपालमा गएको बिनासकारी महाभूकम्पमा बेल्जियमवासीहरूले सक्दो सहयोग गरेको र केही वर्षअघि बेल्जियममा आएको बाढीबाट पीडितजनका लागि पनि नेपाली समुदायले सक्दो सहयोग गरेको स्मरण गर्नुभयो ।

मेयर रिदवानीले नेपाली नयाँ बर्षको शुभकामना दिदै नेपालीहरू कला र संस्कृतिले धनी रहेको र प्रवासमा पनि यसको संरक्षणका लागि नेपाल महोत्सव जस्तो पर्व आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले नेपाल धर्म, कला, संस्कृति र प्राकृतिक छटाहरूबाट समेत सम्पन्न रहेको जानकारी दिँदै सोको अवलोकन गर्न र महोत्सवमा राखिएका स्टलहरूको अवलोकन गरी नेपाली परिकार र बस्तुहरूको अवलोकन गर्न विदेशस्थित कुटनीतिक नियोगका प्रमुखहरूको उपस्थिति महोत्सवको गरिमा अझै बढेको बताउनुभयो ।

राजदूत राजभण्डारीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै महोत्सवमा भएका खानाका परिकार र नाचबाट भरपुर मनोरञ्जन लिन सबैलाई आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृति देश भएकोमा सबैले गौरव गरेको बताउँदै नेपालमा भएका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्न यस्ता कार्यक्रमहरू उपयोगी हुने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै विदेशी कुटनीतिक नियोगबाट महोत्सव अवलोकनका लागि आउनु भएका पाहूनाले आफूलाई हौसला प्रदान गरेको र नेपाल फेस्टिबलले प्रवासमा नेपाली कला, संस्कृतिको संरक्षण र सम्वर्धनमा सहयोग पुऱ्याएको बताउनुभयो ।

बिहान साढे एघार बजे शहरको मध्यभागबाट बाजागाजासहित निस्केको झाँकीमा साँग्रीला समाज, नेपाली भाषा स्कुलको जीबित कुमारी प्रदर्शनी, युरो नेपाल कलाकार संघ, पासा पुँच, संयुक्त किरात समाज, म्याग्दी प्रवासी संघ (मोना) लगायतका संघसंस्थाहरूको सहभागिता रहेको थियो ।

पर्यटन प्रवर्धन गर्न नेपाल र नेपालीहरूको धर्म, कला, संस्कृति र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने श्रब्यदृष्य सामग्री राखिएको थियो । त्यस्तै, बेल्जियमका लागि नेपाली दुतावासको तर्फबाट नेपाल सम्बन्धित जानकारीमूलक सामग्री प्रदर्शन र वितरण गरिएको थियो ।

त्यस्तै, कार्यक्रम क्षेत्रमा सेल, अचार, नेवारी खाना, चिउरा, चना, दालभात, पुलाउ, जेरीपुरी र नेपालमा उत्पादित हस्तकलासम्बन्धी सामग्रीहरूको १२ वटा स्टलहरू राखिएका थिए । स्टलवरिपरि खानाका परिकारको स्वाद लिनका लागि दर्शकहरूले लामो समयसम्म कुर्नु परेको थियो ।

कार्यक्रममा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ अभियानका प्रवर्तक धीरज राईको साँगितिक प्रस्तुति रहेको थियो । प्रस्तुतिकै क्रममा गायक राईले बुद्ध नेपालमै जन्मेको भएता पनि उनको जन्मलाई लिएर अनेकौँ भ्रमहरू सृजना गरिएकोमा सो चिर्न आफुले यो अभियान संसारभरी चलाएको बताए ।

सोही क्रममा ऐना बेल्जियमले लाखे नाँच, संयुक्त किरात समाजले साकेला नृत्य लगायत सांस्कृतिक, जातीय न्रित्य प्रस्तुत गरेका थिए । । स्थानीय नेपाली समुदायका बालबालिका युबा युबतीहरुले करिब् दुई दर्जन नेपाली मौलिक न्रित्य र गीत प्रस्तुत गरेको कार्यक्रममा बेल्जियम नागरिक र अन्य युरोपियन देशका नागरिकहरु खुशीले झुमेका थिए । युरोपमा सधैं धुमिलो हुने मौसम आज उज्यालो र उश्न भएकोले पनि मेला हेर्न आउनेहरुको घुइचो थियो । नेपाली समुदायका कार्यक्रमहरुमा कमै देखिने बेल्जियममा हुर्के बाधेको नेपाली नयाँ पुस्ताको पनु उल्लेख्य उपस्थिती थियो ।
कार्यक्रमलाई स्थानीय कलाकार एवम् इनास बेल्जियमका महासचिव लाहुरेकान्छाको प्रस्तुतिले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको शुरुवातमा नेपाल र बेल्जियमको राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो ।

शनिबार सम्पन्न नेपाल महोत्सवमा युरोपियन युनियन, भारत, बंगलादेश, चीन, बुल्गेरीया, हंगेरी, काजकिस्तान, माल्दिप्स र श्रीलंकाका राजदुतहरू तथा लुभेन नगरपालिकाका उपमेयरहरू र आप्रबासी संगठन हेर्ने पदाधिकारीहरुको सहभागिता रहेको थियो । एनआरएनएका केन्द्रीय उपमहासचिब रामशरण सिंखडा, सचिब गनगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल, प्रबक्ता शिव बरुवाल, युरोप उपसन्योजक चित्र सुबेदी, युबा उपसंयोजक दिपक न्यौपाने, आईसिसी सदस्यहरु भिम जोशी रोशन र गंगा शर्मा लगायतका एनआरएनए पदाधिकारीहरु पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी, महोत्सवको अवलोकन गर्न र सहभागी हुन ओस्टण्डे, ब्रुज, ब्लाङ्केनबर्ग, गेण्ट, आन्तरपेन, ब्रसेल्स लगायतका शहरहरुबाट बस रिजर्ब गरेर, सार्वजनिक एबम ब्यक्तिगत सवारी साधनमा नेपालीहरु लुभेनमा जम्मा भएका थिए । कार्यक्रममा नेपाली मेला आयोजना गर्ने संघ संस्थालाई र प्रायोजकहरुलाई सम्मान गरिएको थियो ।

एनआरएनए बेल्जियमका उपाध्यक्ष एबम कार्यक्रम सन्योजक तिर्थ धमलाले सहभागि एबम सहयोगि सबैलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रमको सन्चालन निशा गुरुङ, महेन्द्र भट्टराई, रुबिना शर्मा र लाक्पा याग्जी शेर्पाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.