महाशिवरात्री पर्व मनाइँदै

0

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी शनिबार देशभर मनाइँदै छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।


पुराणहरूमा कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रीको विशेष महत्व छ ।


आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।


यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ ।


महाशिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

Leave A Reply

Your email address will not be published.