तपाईं जहाँ बसे पनि मातृभूमिलाई नबिर्सनोस् : गुरु चिन्तामणि योगी

0

लन्डन –  संस्कृतिविद् तथा आध्यात्मिक चिन्तक डा चिन्तामणिनाथ योगीले जहाँ बसे पनि, जहाँ रहे पनि आफ्नो मातृभूमिलाई नबिर्सन आग्रह गरेका छन्।  

शनिबार ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसनद्वारा आयोजित सत्संगलाई सम्बोधन गर्दै डा योगीले  जननी र जन्मभूमि स्वर्ग भन्दा पनि ठूला भएको बताए।

“सनातन संस्कृति कुनै पनि धर्म, सम्प्रदाय वा जाति विशेषसंग आबद्ध छैन।  यसले सम्पूर्ण मानव जातिको कल्याणकोलागि प्रार्थना गर्दछ। त्यसैले हामीले कहिले पनि सनातन संस्कृतिलाई  बिर्सनु हुँदैन,” उनले भने। उनले विदेशमा हुर्की रहेका बालबालिकालाई पनि सनातन संस्कृतिबारे शिक्षा दिनु पर्ने बताए। यस्तो शिक्षा प्राप्त गरेका बालबालिकाले संसारकै असल नागरिक कसरी बन्ने भन्ने सिक्ने छन् भने एउटा बृहत् जीवन दृष्टि प्राप्त गरी सम्पूर्ण मानव जातिको कल्याणका लागि काम गर्ने छन्।

“गुरु गोरख नाथजस्ता साधु सन्तहरुको शिक्षालाई अनुशरण गरेर पवित्र भूमि नेपाललाई भौतिक हिसाबले मात्रै हैन, आध्यात्मिक हिसाबले पनि समृद्ध बनाउन सकिन्छ। हामी विश्व गुरु हौँ, त्यो संदेश संसारभरि पुराउनु पर्ने छ,” उनले भने।

भक्ति योग, ज्ञान योग, कर्म योग र राज योगबारे संक्षिप्त चर्चा गर्दै योगीले कर्म योगको मार्गबाट परिवार, समाज र विश्वको सेवा गर्न सकिने बताए। उनले व्यस्त जीवनमा पनि सुखी र स्वस्थ जीवन जिउन सिक्नु महत्वपूर्ण भएको जनाए।

यसै गरी गत आइतबार नेप्लिज डक्टरस एसोसियसन युकेद्वारा भर्चुएल माध्यमबाट आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै डा योगीले बेलायतमा आफुले अनुशासित समाज देखेको चर्चा गर्दै  बाह्य मात्रै हैन, भित्री अनुशासनमा पनि जान सुझाव दिए।

 ‘हामी भित्र सबै चिज छ। हाम्रो आफ्नै जीवनको यात्रामा पनि नेभिगेटर, जीपीएस बनाउँ।  बोध छ भने त्यहि शिवावस्था, बुद्धत्व हो।’ 

‘उपनिषद् भन्छन् – आफैलाई हेर, सुन, मनन गर, आत्मसात् गर।  बाहिरको ‘लाइट’ मात्रै फलो गर्ने? आफ्नै प्रकाश कहिले बन्ने? शिव रात्री ज्ञान र चेतनाको पनि  रात्री हो ।  जुन दिन त्यो प्रकाश बल्छ, जिन्दगी सुखद् हुन्छ, हामी आनन्दित हुन्छौं, जिन्दगी सत्यम् शिवम् सुन्दरम् बन्छ,’ डा योगीले भने।

काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक तथा हिन्दु विद्यापीठ नेपालका पूर्व प्राचार्य डा योगी विश्व ओमकार महासंघका पनि संयोजक हुन्।  बेलायतमा चेतना यात्राको क्रममा उनले विभिन्न नेपाली संघसंस्थाका साथै लन्डनस्थित सेन्ट जेम्स स्कुल, वर्ल्ड गुडविल युके जस्ता संस्थाहरुको भ्रमण गरेका थिए।  यही शनिबार, शिव रात्रीका दिन उनले बर्मिङ्घमस्थित पशुपतिनाथ मन्दिरमा र २६ फेब्रुअरीका दिन साउथहलस्थित विश्व हिन्दु मन्दिरमा प्रवचन दिने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.