अहिलेकाे सत्तारुढ गठबन्धन भत्कन सक्छ : केपी ओली

0

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन् ।  मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन् । उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किने प्रति शंका व्यक्त गरे । देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए ।  

एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताएका थिए ।

उनले भने – ‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म । हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ । यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ । प्रशन्न हुनुपर्दछ । तर कथम कदाचित यो स्थिति फेरियो भने ? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । बहुमत कसैको छैन । हाम्रो पार्टीसँग बहुमत छैन । हामीसँग बहुमत भन्दा निकै तल सिट छ । र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन् ।

यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ । नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो । यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन । त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन । अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन् । अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन् । यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन् ।’

अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए । कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताए । उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए । कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरुलाई आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.