गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै सम्बोधन हुन्छ, सर्वौच्चको फैसलाले कुनै अधिकार कटौती हुन्न : कांग्रेस नेता गगन थापा

0

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले गैरआवासीय नागरिकताको मुद्दा छिट्टै टुंगो लाग्ने बताउनुभएको छ । संविधानले परिकल्पना गरे अनुरुप नै गैरआवासीय नेपालीहरुले उठाएको मुद्दा सम्बोधन हुने उहाँले बताउनुभएको हो । एनआरएनए एनसीसी अमेरिका तथा एनआरएनए एनसीसी क्यानाडाद्वारा आइतबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद थापाल पछिल्लो पटक नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलाले गैरआवासीय नेपालीको अधिकारमा कटौती नगरेको र संवैधानिक व्यवस्था अनुसार नै प्रक्रिया अघि बढ्ने उहाँको भनाई थियो । संसदले दुई, दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिकोमा गएर अड्किनु दुखद् भएको भन्दै उहाँले संसद्को चालु अधिवेशनबाटै नागरिकता विधेयक अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।


नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विदेशी नागरिकता लिए नेपालस्थित पैतृक सम्पत्ति सुरक्षित रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंले राजस्व तिरेर खरीद गरेको सम्पत्ति वैध नै हुन्छ, त्यस्तो सम्पत्ति राज्यले खोस्ने मिल्दैन ।


गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले गैर आवासीय नेपाली नागरिकताको अल्झाएर नराखी सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने भन्दै उहाँले सरकारले त्यसका लागि सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो । गैरआवासीय नेपालीको सरोकार राख्ने निकाय परराष्ट्र मन्त्रालय र मन्त्रालयले सुरूका दिनमा गैरआवासीय नेपाली ऐन, नियमावली निर्माण गर्न मन्त्रालयले सकारात्मक भूमिका खेलेको स्मरण गराउँदै थापाले ऐनले परिकल्पना गरेका कतिपय विषयहरू कार्यान्वनमा मन्त्रालय थप जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभयो ।

गैर आवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले रवि लामिछाने प्रकरणले संसारभरिका एनआरएनहरु संसकित भएको बताउनुभयो । उहाँले संविधानअनुसार एनआरएन नागरिकता प्रदान गर्न पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रह पनि गर्नभयो ।


गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संविधान आएको सात वर्षसम्म पनि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयन नगर्नु दुखद् भएको भन्दै संसदको चालु अधिवेशनबाटै यो मुद्दा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

संघका उपाध्यक्ष डा हेमराज शर्माले एनआरएनसँग सम्बन्धित दर्जनौं ऐन, कानूनहरुमा संशोधन आवश्यक रहेको बताउनुभयो । कतिपय कानूनी अड्चनले पनि गैरआवासीय नेपालीमाथि न्याय हुन नसकेको उहाँको भनाई थियो ।

त्यस्तै संघका महासचिव डा केशब पौडेलले पछिल्ला केही परिघटनाले गैरआवासीय नेपाली समेत त्रसित भएको भन्दै सरकारले एक पटकको नेपाली सदैव नेपाली भन्ने मूल मर्मलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।


एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको अध्यक्षतामा आयोजित अन्तरक्रियाको सञ्चालन एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतमले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.