संविधानमा जनताका अधिकार ऐनाजस्तै : अध्यक्ष ओली

0

काठमाडौँ, ४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा जनताका हक अधिकार ऐनाजस्तै छर्लङ्ग भएको बताउनुभएको छ । नेपालको संविधान, २०७२ कोे स्वागतमा आज टुँडिखेलमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानले मुलुकलाई आधुनिक र विकसित बनाउने मार्ग प्रशस्त गरेको तथा राष्ट्रिय एकतालाई विशेष जोड दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – “अब जनताका विकासका सपना र आकाङ्क्षालाई संविधानको कार्यान्वयनमार्फत हामी पूरा गर्न सक्छौँ । त्यसकारण यो संविधान सबैका निम्ति हो । हामी खुसियालीसाथ कार्यान्वयनमा जुट्नुपर्छ ।”
प्राकृतिक रुपले सुन्दर र सम्पन्न देशलाई आधुनिक, उन्नत, विकसित र सुखी बनाउने उद्देश्य राखेर जनप्रतिनिधिले संविधान बनाउन खोज्दा आएका अनेक प्रकारका बाधा अड्चनलाई पन्छाउँदै र नाघ्दै संविधानसभा संविधान जारी गर्न सफल भएको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो – “सामन्ती राजतन्त्रात्मक सत्ताले जनतालाई फुटाएर र जनतालाई अशिक्षित तथा अविकसित बनाएर राखेको थियो । संविधान जारीसँगै अब हामी वास्तविक रुपमा सार्वभौम जनता भएका छौं ।”
संविधानले पछाडि परेका समुदायलाई अगाडि ल्याउन विशेष नीति र विभिन्न समुदायको विकासका लागि संवैधानिक आयोग गठनको व्यवस्था गरेको जनाउँदै अध्यक्ष ओलीले हिमाल, पहाड र तराईका सबै भूभागलाई विकासको मूलधारमा ल्याउन पनि संविधानले आधार खडा गरेको दावी गर्नुभयो ।
लोकतान्त्रिक आन्दोलनका क्रममा पुष्पलाल, बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारी, गिरिजाप्रसाद कोइरालालगायतको योगदानको स्मरण गर्दै उहाँले नयाँ संविधान लोकतान्त्रिक संविधान हो भन्नुभयो ।
अध्यक्ष ओलीले केन्द्र, प्रदेश र स्थानीय निकायका बीचमा शक्तिको बाँडफाँड, आवधिक निर्वाचन, बालिग मताधिकार, समान हक, सुरक्षा र सम्मान तथा असंलग्न परराष्ट्र नीतिलाई संविधानमा अङ्गीकार गरिएको बताउनुभयो ।
संविधानमा देखिएका असन्तुष्टिलाई वार्ताबाट सम्बोधन गर्न सकिने बताउँदै उहाँले भावनामा नबग्न पनि असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – “तराई र थारु क्षेत्रका कुनै समस्या वा माग भए बसेर छलफल गरी संविधान संशोधन गरेर जान सकिन्छ ।”
आफू लोकतन्त्रकै लागि लामो समय जेल बसेको स्मरण गर्दै ओलीले भन्नुभयो – “संविधानमा चित्त दुखाउनु दुःखद कुरा हो । संविधान अपरिवर्तनीय र असंशोधनीय दस्तावेज होइन, यसमा आत्तिनु वा असन्तुष्ट हुनुपर्ने कारण छैन । यसमा खुसियाली मनाऔँ, आउनोस्, बसौँ, सबै जायज माग सम्बोधन गर्न सकिन्छ । लोकतन्त्रमा जनताका जायज माग नसुन्ने भन्ने हुनै सक्दैन ।”
उहाँले भन्नुभयो – “स्वाभिमानी नेपाली आफ्नो स्वाभिमान कायम राखेर छिमेकी मुलुकसँग मित्रता कायम गर्न चाहन्छ ।” भारतविरुद्ध नेपालीहरुले सोच्न पनि नसक्ने भएकाले भारत सरकारले त्यही रुपमा बुझ्नुपर्ने उहाँको भनाइ थियो ।
“संविधान बनाउन ढिलो गरौँ भन्ने आवाज नआएको होइन तर आठ वर्ष भइसक्दा पनि सङ्क्रमणकाल लम्ब्याएर कति राख्ने ?,” उहाँले भन्नुभयो – “नेपालको विकास, एकता, राष्ट्रिय भावना र अग्रगामी सोचका साथ संविधान आएको छ, यसको स्वागत गरौँ ।”
उहाँले संविधान जारी भएकामा सबै दल र नेपाली जनताप्रति कृतज्ञता ज्ञापन गर्दै जनता र राष्ट्रको सेवामा आफू सदैव समर्पित रहने विश्वास पनि दिलाउनुभयो ।

Leave A Reply

Your email address will not be published.