आज श्रीपञ्चमी, सरस्वतीको पूजाराधना गरी मनाइँदे

0

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ ।

हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण गर्ने कार्यक्रम छ ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट बसन्त श्रवण गर्ने परम्परा छ ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ ।

हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ ।

आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन्। शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ ।

आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।

Leave A Reply

Your email address will not be published.