आज साँझदेखि पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, वर्षाको सम्भावना

0

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ ।

सोही प्रणालीका कारण आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

हिमाली भेगमा भने मंललबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ भने राति सामान्य वर्षा र हिमपातको हुने सम्भावना छ ।

यसैगरी विभागले यसपालिको हिउँदमा ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो ।

सन् १९९१ देखि २०२० सम्मको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा औसतमा १२ दशलमव ६ मिलिमिटर पानी परेको थियो । तर यसपालिको डिसेम्बर १ देखि जनवरी १८ सम्ममा ०.१ मिलिमिटर मात्रै पानी परेको मौसम विज्ञान विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.