पोखरा विमान दुर्घटना : ६८ जनाको मृत्यु भएको पुष्टि

0

काठमाडौं : काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ६८ जनाको शव निकालिएको छ ।

आइतबार बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो ।

विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । अस्पतालमा मृतकको पहिचान गर्ने प्रक्रिया शुरु भएको छ ।

दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार कार्य जारी राखेका छन् ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । उनले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यावसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो ।

यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.