एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने

0

काठमाडौं : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ‘एमडीएमएस’ प्रणालीमा दर्ता नभएका मोबाइल आजदेखि नचल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्णरूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागेको हो ।

भन्सार छलेर अवैधरूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो ।

प्राधिकरणको सूचनाअनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगतरूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।

विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

यद्यपि व्यक्तिगतरूपमा नेपाल ल्याउने मोबाइल पहिलो दुई हप्ता भने दर्ताबिनै प्रयोग गर्न सकिनेछ । सो अवधिभित्र दर्ता गरेमा मात्र दुई हप्तापछि पनि प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।

दर्ताबिनै दुई हप्ता प्रयोग गर्न सकिने सुविधा भने खासगरी पर्यटकलाई समेत लक्षित गरेर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ८० करोड रुपैयाँ लगानीमा एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको हो ।

Leave A Reply

Your email address will not be published.