कोरोनाको नयाँ भेरियन्टको त्रास बढ्दै, अस्पतालमा भने खोप अभाव

0

काठमाडौं : सरकारले कोरोनाविरुद्धको अतिरिक्त मात्रा बुस्टर डोज लगाउन भनेपनि अस्पतालहरुमा खोप अभाव देखिएको छ ।

छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै फर्कनुपरेको हो ।

अहिले बुस्टर लगाउन मिल्ने खोप सरकारसँग नभएको बताइएको छ । खोप जनवरीको दोस्रो सातासम्म आउने बताइएको छ ।

हाल फाइजर, कोभिसिल्ड, जोनसेन खोप लगाएकाहरूका लागि बुस्टर खोप उपलब्ध हुन नसकेको हो ।

पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्छ तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन नमिल्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

कोभिडको सम्भावित नयाँ लहरबाट त्रसित हुनेहरू र विदेश जान लागेकाहरूले बुस्टर लगाउन आए हाल खोप नपाउने स्थिति देखिएको छ ।

हाल वयस्कका लागि चिनियाँ खोप भेरोसेलबाहेक अन्य खोप नेपालमा छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोजका रूपमा उपयोग गर्न सकिने करिब ५ लाख मात्रा फाइजर खोप भने स्टकमा छ ।

यस्तै चीनको सिनोभ्याक खोप करिब ४० लाख मात्रा भए पनि हालसम्म यो खोप बुस्टरका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको छैन । अहिलेको अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउनु जरुरी रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.