मन्त्रालय तथा शक्ति बाँडफाँटका लागि सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा

0

काठमाडौं : नयाँ सरकार गठनसँगै सत्ता साझेदार दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बाँकी मन्त्रालयको भागबण्डा मिलाउन र प्रदेश सरकार गठन लगायतका विषयमा छलफलका लागि सत्ता साझेदार दल छलफलमा जुटेका हुन् ।

नेकपा माओवादी र नेकपा एमालेले आन्तरिक रुपमा राष्ट्रपति उपराष्ट्रपति, सभामुख लगायतका पदमा भागबण्डाका विषयमा छलफल थालेका छन् ।

सत्ता साझेदार दलहरुले आन्तरिक छलफल गरेर त्यसपछि बस्ने अध्यक्षमण्डलको बैठकले मन्त्रालय बाँडफाँट लगायतका विषयमा सहमति जुटाउने बताइएको छ ।

सभामुख र राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले लिने गरी छलफल अघि बढिरहेको छ । त्यस्तै प्रदेश सरकार गठन र नेतृत्वका विषयमा पनि अध्यक्षस्तरीय संयन्त्रमार्फत् छलफल अघि बढाउने तयारी गरेका छन् ।

सरकारमा सहभागी नभएको जसपाले पार्टीको बैठकमार्फत आवश्यक निर्णय लिने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभइ सरकारमा जान नसकिने जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन छ ।

सरकारलाई एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राप्रपाको १४, जसपाको १२, जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सांसदको समर्थन छ । त्यस्तै त्यस्तै तीन जना स्वतन्त्र सांसदले पनि दाहाललाई समर्थन छ ।

Leave A Reply

Your email address will not be published.