काठमाडौंसहित देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

0

काठमाडौं : पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै कम हो । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाडौंसहित देशभरकै तापक्रम घट्न थालेको छ ।

जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यही प्रभावका कारण आज पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बदली हुने अनुमान गरिएको छ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भने मौसम आंशिक मात्रै बदली हुने अनुमान छ ।

शनिबार कास्की, खोटाङ र म्यादीका केही ठाउँमा पानी परेको थियो । कास्कीको माछापुच्छ्रे बेस क्याम्पमा गरिएको मापन अनुसार त्यहाँ ३ दशमलव ६ मिलिमिटर, म्यादीको घोरेपानीमा १ दशमलव ५ मिलिमिटर र खोटाङको दूधकोकोशीमा २ मिलिमिटर पानी परेको मापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.