निर्वाचन आयोगले बुझायो राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन

0

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ ।

आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारी समक्ष मंसीर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् ।

निर्वाचन आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । निर्वाचन आयोगले बुधवार निर्वाचनको सबै परिणाम परिणाम घोषणा गरेको थियो ।

निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा माओवादी केन्द्र ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएको थियो ।

२७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दलको रुपमा उदाएको छ भने नयाँ शक्तिको रुपमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ ।

निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरुको धरौटी रकम जफत भएको छ ।

त्यस्तै प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० वटा दलको धरौटी जफत भएको राष्ट्रपति समक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शुन्य ६ प्रतिशत मत भने बदर भएको छ ।

प्रदेश तर्फभने १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएकोमा ४ दशमलब शुन्य ७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधि सभातर्फ पुरुष एक सय ८४ जना र महिला ९१ जना निर्वाचित भएका छन त्यस्तै प्रदेश सभातर्फ ३५० जना पुरुष र महिला २ सय महिला निर्वाचित भएका छन ।

Leave A Reply

Your email address will not be published.