काठमाडौं : काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोजिएपछि त्यहाँका बासिन्दा प्रतिकारमा उत्रिएका छन् ।
बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले प्रहरी परिचालन गरेर हटाउन खोजेपछि खुकुरी, इँटा र ढुंगासहित स्थानीयहरुले प्रतिकार गरेका हुन । स्थानीयहरुले टायर बालेर बाटो अबरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् ।
ढुंगा लागेर करिब २५ नगर प्रहरी घाइते भएका छन् । बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौं महानगरपालिकासँग समन्वय गरी वस्ती खाली गराउन लागेको हो ।
यसअघि वस्तीबाट हट्न १० दिने सूचना जारी गरिएको थियो तर अझै उनीहरु हटेका छैनन् । उनीहरुलाई बलपूर्वक हटाउन डोजर चलाउन खोजिएको हो ।
स्थानीयले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् ।
समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वडाका २७ स्थानमा सुकुम्बासी बस्ती छन् । ती बस्तीमा तीन हजार ४ सय ९६ घरधुरी रहेको समितिको तथ्याकंमा उल्लेख छ ।