आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

0

काठमाडौं : तुलसीको भगवान विष्णुसँग विवाह र विशेष पूजा गरी आज हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । 

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी भनिएको हो । 

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना तुलसीको व्रत गरी विशेष पूजा गर्ने गरिन्छ । 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । 

कात्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ । 

ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । 

आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ । साथै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।

Leave A Reply

Your email address will not be published.