सन्दीप लामिछानेको बयान सकियो, बुधबारदेखि थुनछेक बहस

0

काठमाडौं : नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको मंगलबार काठमाडौं जिल्ला अदालतमा बयान भएको छ ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेको बयान लिइएको हो । सन्दीपले बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन् । पीडित युवतीसँग होटलमा बसेको, तर बलात्कार नगरेको उनको दाबी छ ।

मंगलबार बयान मात्रै भएकाले थुनछेक बहस बुधबार मात्रै हुने भएको छ । थुनछेक बहसमा शुरुमा वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट कानूनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् ।

आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्ने वा धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा अदालतले आदेश दिनेछ । अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएमा लामिछाने थुनामा जानेछन् ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता अनुसार बलात्कार मुद्दामा १२ वर्षसम्म कैद मागदाबी प्रहरीले गरेको छ । १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन् । सन्दीपले आफूमाथि दुईपटक बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

Leave A Reply

Your email address will not be published.