नेसपाको घोषणापत्र : दोहोरिए पुरानै वाचा, थपिए पपुलिस्ट नारा

0

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादवको संयुक्त नेतृत्वमा रहेको रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । 

आइतबार काठमाडौंबाट आयोजित कार्यक्रममा नेसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ नारासहितको प्रतिबद्धतापत्रको आवरणमा माओवादी केन्द्रको चुनाव चिह्न सँगै अध्यक्ष भट्टराईको तस्वीर समेटिएको छ । 

प्रतिबद्धतापत्रमा डा. भट्टराईले लोकतन्त्रको लोकतान्त्रीकरणका लागि नेसपाका १० प्रतिबद्धताहरू उल्लेख गरेका छन् । जहाँ पुरानै वाचा दोहोरिएका छन् भने  पपुलिस्ट नारा थपिएका छन् । 

नेसपाले संविधान संशोधन लगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै प्रतिवद्धतापत्रमा संकल्प उल्लेख गरेको छ । माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ लिएर चुनावी मैदानमा उत्रिएको नेसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ । त्यसका लागि संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको छ । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ । राज्यपुनसंरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ । यी त डा. बाबुराम भट्टराईले विगतमा पनि उठाउँदै आएका एजेण्डा हुन । यसपटक नयाँ नारा पनि थपिएका छन् जो पपुलिस्ट छन् । 

डा. भट्टराईको सबैभन्दा पपुलिस्ट नारा हो– काठमाडौंदेखि सगरमाथासम्म केवलकार । ‘काठमाडौदेखि सगरमाथा बेसक्याम्पसम्म केवलकार’ प्रतिवद्धतापत्रको प्रतिवद्धता नम्बर १३ को शीर्षक ‘केवलकार’ शीर्षकमा उल्लेख छ । यसको सुनिश्चितता कसरी हुन्छ भन्ने विषयलाइ प्रतिवद्धतापत्रको सुरुमै लेखिएको छ, आर्थिक विकास तथा समृद्धिका योजनाहरू संघीय स्तर र प्रादेशिक स्तरका रणनीतिक महत्वका आयोजनाहरूलाई बजेटको कमि हुन नदिई सम्पन्न गरिनेछ ।’ 

अर्को पपुलिस्ट विषय हो– रेल । एक दिनमा मेची–काली यात्रा गर्न सक्ने गरी पूर्व–पश्चिम रेल मार्ग निर्माण गर्ने नेसपाको प्रतिवद्धता छ । प्रतिवद्धता पत्रमा रेलमार्ग सम्बन्धी छुट्टै शीर्षक छ । प्रतिवद्धता नम्बर ७ मा भनिएको छ, ‘पूर्व पश्चिम लोकमार्गको समानान्तर एक दिनमा मेची–काली यात्रा गर्न सकिने गतिको पूर्व–पश्चिम चल्ने रेल मार्गको निर्माण ।’ 

यसैगरी, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी– चितवन– काठमाडौं रेल लुप निर्माण गर्ने पनि डा.भट्टराई नेतृत्वको पार्टीको चुनावी प्रतिवद्धता छ । साथै, काठमाडौं–विरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि प्रतिवद्धता छ । 

विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रेलको सपना देखाउँदा डा.भट्टराईले कट्टु आलोचना गरेका थिए । २०१६ मे १७ मा डा. भट्टराईले ओलीको रेल सपनाको आलोचना गर्दै ट्वीट गरेका थिए, ‘प्रमले रेल/पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि ? फराकिलो पारिएको सडकमा ट्राफिक जाम उस्तै जो छ !’ ६ वर्ष पछि डा. भट्टराईले ओली भन्दा अगाडि बढेर रेलको सपना देखाएका हुन् । 

डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् । पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उनले राइट टु रिकलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । 

‘राइट टु रिकल गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिमेवार हुँदै गएका छौं । ढाँट छल पैसा किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल षड्यन्त्र पैसा किनबेच गरेर जाने जुन प्रवृत्ति छ’, भट्टराईले भने, ‘यदि जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत २५ प्रतिशत (वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्छ, यो सम्भव छ, असम्भव छैन ।’

Leave A Reply

Your email address will not be published.