रोकिएन आचारसंहिता उल्लंघन

0

काठमाडौं : आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा शीर्षस्थ नेताहरु नै आचारसंहिता विपरितका कामहरु गर्न थालेका छन् । चुनावमा उम्मेद्वारी दिएका विभिन्न दलका शीर्षस्थ नेताहरुले जनतालाई प्रलोभनमा पार्ने अभिव्यक्ति, राहात र पैसा बाँडेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेदेखि कारवाहीको चेतावनी समेत दिएको हो । 

रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले मतदाता प्रभावित पार्ने उद्देश्यले फ्री भिसा, फ्री टिकट उपलब्ध गराउने भाषण गरेको सम्बन्धमा निर्वाचन आयोगले कारवाहीका लागि रौतहट प्रहरीलाई पत्राचार समेत गरेको थियो । रौतहटमा भाषण गर्ने क्रममा ’विना ढेउवाके टिकट मिल्ते हैं, विना ढेउवाके भिसा मिल्ते हैं’ भन्दै भाषण गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढेको हो । यद्यपि, केही समय अघि प्रधानमन्त्रीपत्नी एवं समानुपातिक उम्मेद्वार आर्जु राणा देउवाले पनि निर्वाचन क्षेत्रमा फ्रि भिसा र टिकट दिने बताएपछि उनलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि मतदाता प्रभावित पार्ने गरि बाजागाजा सहित निर्वाचन क्षेत्र पुगेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो । आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि २४ घण्टे स्पष्टीकरण माग गरेको छ । उनकै निर्वाचन क्षेत्रका आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख ५० हजार निरौला र उनका बुबालाई हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएपछि स्पष्टीकरण माग भएको हो । 

त्यस्तै, मकवानपुरका उम्मेद्वारहरु बिरोध खतिवडा र इन्द्र बानियाँले पनि पैसा बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै आयोगले स्पष्टीकरण माग गरेको छ । केही समयअघि शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा विपद् पीडितलाई सामाग्री बाँडेको विषयमा पनि आयोगले स्पष्टीकरण सोधेको थियो । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद २ को दफा ४ (न) मा कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्नेगरी कुनै कार्य गर्न नहुने उल्लेख गरेको छ । मतदाता प्रभावित पार्न प्रलोभन देखाएको पुष्टि भएमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद हुने व्यवस्था निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा उल्लेख छ । तरपनि, अरुलाई नियम सिकाउने नेताहरु पटक पटक आचारसंहिता विपरितका काम गरेर बदनाम भईरहेका छन् ।

Leave A Reply

Your email address will not be published.