चुनावको चुनौती सामाजिक संजाल

0

काठमाडौं : चुनावको चुनाीतीका रुपमा सामाजिक संजाल देखा परेको छ । यही महसुस गरेर निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न सामाजिक सञ्जाल फेसबुकसँग सहकार्य गर्ने भएएको छ ।

आयोगका अधिकारीहरुका अनुसार फेसबुकको दक्षिण एसिया हेर्ने व्यूरोको अधिकारीहरुसँग छलफल भएको छ । फेसबुकको दक्षिण एसिया कार्यालयको नीतिगत मामिला हेर्ने प्रमुख सहितको टोली नेपाल आएको थियो । उनीहरुले निर्वाचन आयोगका पदाधिकारी र सूचना÷प्रविधि हेर्ने विज्ञ टोलीसँग छलफल गरेको हो । 

त्यसक्रममा फेसबुकले राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन सामग्रीको प्रचारप्रसार तथा मिथ्या सूचना नियन्त्रणबारे भर्चुअल कार्यशाला आयोजना समेत गरेको आयोगका अधिकारीहरुले बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार फेसबुकसँग तीनवटा विषयमा सहकार्य हुनेछ । ‘निष्पक्ष र सन्तुलित रुपमा निर्वाचन गर्न सामाजिक सञ्जालमा हुनसक्ने बाधा व्यवधान र तिनलाई हटाउने उपायबारे छलफल भएको हो’, थपलियाले भने । उनले फेसबुकसँगको सहकार्यले झुटा विवरण प्रचारप्रसार र अफवाह नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको बताए ।

आयोगले निर्वाचनसम्बन्धी जनचेतनामूलक र प्रवद्र्धनात्मक सामग्रीलाई प्रचारप्रसार गर्न पनि समझदारी भएको बताएको छ । त्यसैगरी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई निरुत्साहित गर्न पनि फेसबुकका प्रतिनिधिहरु सकारात्मक भएको आयोगका अधिकारीहरु बताउँछन् ।

निर्वाचनका क्रममा उम्मेदवार र तिनका शुभचिन्तकहरुले गर्ने खर्च, सामाजिक सञ्जालको पोष्ट शेयर गर्दा हुने खर्चका बारेमा समेत फेसबुक माउ संस्था मेटाले आवश्यक सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाएको आयोगका अधिकारीको भनाइ छ ।

आयोगले यसअघि नै टिकटकको टोलीसँग निर्वाचन शिक्षाको प्रचारप्रसार तथा गलत सूचना नियन्त्रणका विषयमा छलफल गरेको थियो । त्यसैगरी ट्विटरको टोलीसँग समेत छलफल भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलिया सामाजिक सञ्जालको प्रयोग चुनावका लागि ठूलो चुनौती भइरहेको स्वीकार गर्छन् । सामाजिक सञ्जालमा गलत सूचना र झुटो विवरण पनि आउने भएकाले त्यसतर्फ सचेत रहनु पर्ने भन्दै उनी थप्छन्, ‘सबै उम्मेदवारलाई समान अवसर दिन सञ्चार माध्यमहरुलाई पनि आग्रह छ ।’ राजनीतिक दलहरु र उम्मेदवार माथि प्रेसले प्रश्न गरिरहनु पर्ने भन्दै उनले सञ्चार माध्यमले स्वनियमन गर्न थाले धेरै समस्या हल हुने बताए । 

७० प्रतिशत मत खस्ने विश्वास 

प्रमुख निर्वाचन आयुक्त थपलिया आगामी चुनावमा ७० प्रतिशत भन्दा बढी अर्थात १ करोड ३२ लाख मत खस्ने अपेक्षा गरिएको बताउँछन् । बदर मत १ प्रतिशतभन्दा कम गराउन प्रयास गर्ने पनि उनको भनाइ छ ।

अहिले कुनै पनि दल निर्वाचन अवरोध गर्ने पक्षमा नरहेकाले यो सुखद कुरा रहेको उनको भनाइ छ । निर्वाचनमा पैसा पराजित भएर विचार विजयी हुनु पर्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.