ओलीले ‘प्रश्नवाचन चिन्ह हटाइदिनुस्’ भनेपछि …
काठमाडौँ, ३१ भदौ । नयाँ संविधान जारी हुन दुई दिन बाँकी रहँदा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता ह्वात्तै बढेको छ । संविधानसभाबाट नेपालको संविधान, २०७२ लाई प्रमुख दलबीचको सहमतिबाट पारित गराउन निर्णायक भूमिका निर्वाह गर्ने शीर्ष नेतामध्येका एक भएकाले मात्र होइन भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिएकाले अध्यक्ष ओलीसँग भेटघाट तथा सम्पर्कका लागि पार्टीका नेता, कूटनीतिज्ञदेखि कार्यकर्तासम्मको भिड बढेको छ ।
संविधान निर्माणमा ढिलाइ नगर्न र सहमतिका पक्षमा पार्टीका नेता र सभासद्लाई एक ढिक्का राख्न सकेका कारण पनि यतिबेला अध्यक्ष ओलीप्रतिको आकर्षण देखिएको छ । त्यसो त, संविधान पारितको चरणमा आइपुग्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, सभाध्यक्ष सुवास नेम्वाङ् र अन्य शीर्ष नेताको पनि उत्तिकै सक्रियता थियो । एमाले अध्यक्ष ओलीले चाँही तराई मधेस केन्द्रित दलका मागका बारेमा तीतो र यथार्थमिश्रित अभिव्यक्ति सार्वजनिक गर्दै आएका कारण पनि उहाँ र एमालेमाथि एकथरीले अनुदारको आरोप लगाएका छन् ।
आफ्नो अडानमा अडिने भएकाले होला अध्यक्ष ओलीले संविधान पारित भइसकेपछि पनि मधेसकेन्द्रित दलमा आन्दोलन हिंसात्मक र अलोकतान्त्रिक रहेको भनी आज पनि आलोचनायुक्त अभिव्यक्ति दिन छाड्नुभएन यद्यपि, वार्ताको ढोका चाँही खुल्लै रहेको जनाउँ दिनुभयो ।
संविधानसभाको बैठकबाट बिहीबार दुई तिहाई बहुमतका साथ नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ पारित भएको खुशीयालीमा एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा सभासद्का लागि आयोजित चियापान तथा भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले पत्रकारमाझ भन्नुभयो, “संवैधानिक र शान्तिपूर्ण आन्दोलनका दायरामा आफ्ना माग अभिव्यक्त गर्नु राम्रो हो तर लोकतन्त्रमा असन्तुष्टि वा असहमतिका नाममा हिंसालाई स्थान हुँदैन ।
हिंसाको प्रयोग कसैले गर्नु हुँदैन । जनता हिंसाको पक्षमा छैनन् ।”
पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारीसमेत सहभागी कार्यक्रममा अध्यक्ष ओलीले संविधान पारित हुनु अत्यन्त महत्वपूर्ण घडी भएको जनाउँदै यो घटनाले संक्रमणकाल अन्त्य गराएको र सबै नेपालीको विजयको अवस्थामा लगेकाले अब देश नयाँ चरणमा प्रवेश गर्ने उद्घोष गर्नुभयो ।
“सङ्क्रमणकाल लम्बिने वा दोस्रो संविधानसभा पनि असफल हुने आशंकाको अन्त्य भएको छ । यो एक व्यक्ति, समुदाय वा पार्टीको विजय होइन । सबै ठाउँका जनताको विजय हो । अब मुलुक अगाडि बढ्छ । दुनियाका लागि नेपालले यो असाधारण दृष्टान्त दिएको छ ।” पत्रकारको प्रश्नमा उहाँको जवाफ थियो, “नेपालको राजनीतिक नयाँ र कलिलो भएपनि परिपक्वता, दृढता र अठोट देखाउन सक्ने खालको रहेछ भन्ने यस घटनाबाट स्पष्ट भयो । अब असोज ३ गतेको घोषणापछि नयाँ संविधानबाट मुलुक निर्देशित हुन्छ ।”
विगतका आन्दोलनको सम्बोधन गरी जनताको आजको चाहनालाई समेटेको सङ्घीय लोकतान्त्रिक, समावेशी र कानुनी राज्ययुक्त संविधान आएकामा सबैले विजयउत्सव मनाउनुपर्नेमा जोड दिँदै उहाँले भारत र चीनलगायत छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायले दिएको स्वागत र सह्राहनालाई धन्यवाद दिनुभयो ।
तराईमा आन्दोलनमा रहेका पक्षलाई कसरी सहमतिमा ल्याउनु हुन्छ भन्ने प्रश्नमा उहाँको सिधा जवाफ थियो, “संविधान जारीपछि वार्तामा ल्याउनुपर्छ । उनीहरुका आवश्यक, उचित मागलाई सम्बोधन गरिनेछ । संविधान जारी भइसकेपछि संविधानमा समेटिनुपर्ने मागका आधारमा आफ्नो जिद्दी राख्नु हुँदैन । देशलाई नोक्सान हुने कुरा कसैले गर्नु हुँदैन ।”
पारित संविधानमा हस्ताक्षर गर्ने दिन (असोज १ गते) सम्म असन्तुष्ट फोरम लोकतान्त्रिकलाई सहमतिमा ल्याउनुहुन्छ त ? भन्ने अर्काे प्रश्नमा उहाँले एकछिन् सोचेर घुमाउरो जवाफ दिँदै भन्नुभयो, “तपाईको प्रश्नको पछाडि रहेको प्रश्नवाचन चिन्ह हटाइदिनुस् ।” त्यसपछि उपस्थिति सभासद् र पत्रकारबीच हाँसोको फोहरा चल्दै थियो, अध्यक्ष ओली चाँही गच्छदारसहितको चार दलको बैठकका लागि प्रधानमन्त्री निवास वालुवाटारतिर लाग्नुभयो ।