‘अन्तराष्ट्रिय समुदायले संविधानको खुलेरै स्वागत गर्छ’

0

काठमाडौँ, ३१ भदौ । कुटनीतिक क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पूर्वराजदूतहरुले सङ्घीयता, समावेशी र समानुपातिकका विषयमा उठेका आवाजलाई सम्वोधन गरेर तयार पारिएको नयाँ संविधानलाई छिमेकी र अन्तराष्ट्रिय समुदायले खुलेर स्वागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लव नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँहरुले यो संविधान निरर्थक छ, यसमा केही छैन भन्ने अभिव्यक्ति कुण्ठा र आक्रोसको भावना मात्र हो भन्नुभयो ।
सात दशकदेखि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधानसभाबाट संविधान प्राप्त गर्ने चाहनालाई यसपटक राजनीतिक दलले जिम्मेवारका साथ निर्वाह गरेकोे बताउदै पूर्वराजदूतले प्राप्त उपलब्धिलाई नकारेर आन्दोलनका मात्र कुरा गर्नु ठिक होइन भन्नुभयो ।
सो अवसरमा भारतका लागि पूर्व राजदूत डा भेषबहादुर थापाले एकै पटक पूर्ण र सर्वस्वीकार्य संविधान ल्याउ नत्र मान्दैनौ भन्ने आशा र कुरा गर्नु ठिक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, गतिसिल दस्तावेजका रुपमा रहने भएकाले अहिले संविधान बिहिनताको अवस्थालाई अन्त्य गरेर संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै जान सकिन्छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्वन्धि सल्लाहकार डा दिनेश भट्टराईले अन्तराष्टिय समुदायको साथ, सहयोग र सद्भावमा निर्वाचन भएर संविधानसभाबाट संविधान पारित भएकोमा विश्वले मुक्त कण्ठले पं्रसशा र स्वागत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विश्वव्यापीरुपमा स्वीकृत भएका मूल्य, मान्यता र अभ्यासलाई पालना गरेर जारी हुन लागेको संविधानले मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको लागि आधार तयार गर्ने छ ।
भारतका लागि अर्का पूर्व राजदूत दुर्गेशमान सिंहले सङ्घीयता, समावेशी र समानुपातिक सिदान्त अपनाएर अस्थिरताबाट मुलुकलाई जोगाउन तयार पारिएको संविधानमा कही कतै कमजोरी देखिएको भए संशोधनको माध्यमबाट सुधार गरेर लैजान सकिन्छ भन्नुभयो । चीनका लागि पूर्व राजदूत टङ्क कार्कीले वैधानिक तवरले नेपालले गर्ने निर्णयमा छिमेकी तथा अन्तराष्ट्रिय समुदायले सधैभर सहयोग र समर्थन गर्दै आएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षको सुनिश्चितता गरेर जारी हुनलागेको संविधानले मुलुकलाई शान्ति, स्थायीत्व र प्रगतिको मार्गमा लैजान्छ । संयुक्त अधिराज्य बेलायतका लागि पूर्व राजदूत डा सुरेश चालिसेले विविधताले भरिपूर्ण मुलुकलाई समृद्धितर्फ लैजान समानुपातिक र समावेशीका आधारलाई अङगिकार गरेर संविधान जारी हुनलागेकाले मित्र राष्ट्रले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.