
स्टकहोम – 14 बुंदे निर्णय गर्दै १४ औं एनआरएनए युरोपेली बैठक सम्पन्न भएको छ।
बैठकले नेपालको संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पुगेको नागरिकता सम्बन्धी विधेयक अघी बढ्न नसकेकोमा आम गैरआवासीय नेपाली समुदाय दुखित बनाएको जनाएको छ । ‘यस विधेयकलाई आम सहमतिको आधारमा मूर्तरुप दिएर एनआरएनए नागरिकता कार्यान्वयनमा ल्याउन यो बैठक सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ बैठकले भनेको छ।
‘रुपान्तरणका लागि कार्यगत साझेदारी’ भन्ने मूल नारासहित शुरुभएको सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, अध्यक्ष कुल आचार्य, अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायत संघका पदाधिकारीहरुले सम्बोधन गरेका थिए।
त्यस्तै विदेशमा रहेका नेपालीहरुको पैत्रिक सम्पत्ती तथा मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुसंग बैठकले अनुरोध गरेको छ। नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने उडानलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसंग सिधा हवाई उडान जोड्न पनि भेलाले नेपाल सरकारलाई अनुरोध गरेको छ ।
नेपालका बैंकहरुमा डलर लगायतका विदेशी मुद्रामा खाता खोल्न सहज गरिदिएको प्रति नेपाल सरकारलाई
धन्यवाद ज्ञापन गर्दै यो अवसरबाट लाभ उठाउन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई बैठकले आह्वान गरेको छ।

बैठकका निष्कर्षहरु यसप्रकार छन्
१. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ७ वर्ष पछि संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पुगेको नागरिकता सम्बन्धी विधेयक अघी बढ्न नसकेकोमा आम गैरआवासीय नेपाली समुदायलाई दुखित बनाएको ठहर गर्दछ। यस विधेयकलाई आम सहमतिको आधारमा मूर्तरुप दिएर गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन यो बैठक सम्बन्धीत सबैमा हार्दिक अनुरोध गर्दछ।
२. विदेशमा रहेका नेपालीहरूको पैत्रिक सम्पत्ती तथा मताधिकारको अधिकारलाई सुनिश्चित गर्दै आवश्यक कानुनी व्यवस्था गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुसंग अनुरोध गर्दछ । विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिप्रेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ।
३. “Growing Stronger Together with Youths & 2nd Generation” भन्ने नाराका साथ सम्पन्न गरिएको युवा सम्मेलन विशेषगरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिनु पर्ने र गैरआवासीय नेपाली संघसंग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी छु्ट्टै बजेट ब्यबस्था गरिनु पर्ने निष्कर्ष निकालेको छ । छिट्टै बृहत् “Global Youth Conference” आयोजना गर्ने निर्णय गर्दै राष्ट्रिय युवा परिषद, नेपाल र गैरआवासीय नेपाली संघबीच नेपालमा युवा परिचालन तथा क्षमता अभिवृद्धिमा साझेदारी गर्ने गरी १२ बुंदे सम्झौता पत्रमा हस्ताक्षर गरी सम्मेलन सम्पन्न गरियो।
४. आगामी अक्टोवर ११ देखी १३ सम्म हुने एनआरएनए स्थापना दिवस, विधान सभा तथा साधारणसभामा सकृय सहभागिता जनाउन युरोपस्थित सबै राष्ट्रिय समितिहरुलाई यो बैठक हार्दिक आग्रह गर्दछ । साथै गैरआवासीय नेपाली संघको आगामी वर्ष हुने ११ औं महाधिवेशनमा संघको नेतृत्व चयन प्रक्रियालाई सुनिश्चित गर्दै संघको विधानलाई उक्त विधान सभामा सर्वसम्मत दस्तावेजको रुपमा प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरियो।
५. संघले उद्यमशीलताको विकास गर्न विद्यालयस्तरबाटै ‘पढ्दै कमाउंदै’ जस्ता मौलिक कार्यक्रमहरु संचालनमा ल्याउने योजनाको यो बैठक सहर्ष स्वागत गर्दछ । साथै युवा तथा महिलाहरुको उद्यमशीलता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरम र युवाहरुको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिला तथा युवाहरुको सहभागिता सुनिश्चित गराउन यो बैठक प्रतिबद्धता जाहेर गर्दछ ।
६. एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई रु १० अर्बबाट रू ५० अर्ब बनाउने लक्षको साथ समृद्ध नेपाल निर्माणमा थप टेवा पुर्याउन यो बैठक आह्वान गर्दछ। विद्यमान कानूनी अडचनहरुलाई सम्बोधन गर्दै यसमा सहभागीताको लागि आम गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै शिघ्र कार्यान्वयनमा ल्याउन यो बैठक प्रतिबद्धता जाहेर गर्दछ।
७. नेपालका हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपालबाट हुने उडानलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन र युरोपबाट नेपालसंग सिधा हवाई उडान जोड्न नेपाल सरकारलाई अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ।
८. पोर्चुगल, रोमानिया, क्रोयसिया, माल्टा, चेक रिपब्लीक लगायतका देशहरुमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक पुनः आह्वान गर्दछ । कूटनीतिक नियोग नहुँदासम्म ती मुलुकहरुमा कन्सुलर सेवा प्रभावकारी बनाउन यो बैठक विशेष अनुरोध गर्दछ। हाल नेपाली नियोगहरुबाट दिईने सुविधाहरुमा राष्ट्रिय परिचय पत्र प्रदान गर्ने र मतदाता नामावली संकलन तथा मतदाता परिचय पत्र वितरणको समेत ब्यवस्था मिलाउन नेपाल सरकार र निर्वाचन आयोग समक्ष यो बैठक अनुरोध गर्ने निर्णय गर्दछ।
९. नेपाल सरकारले यूरोपेली मुलकहरुसंग श्रमसम्झौता मार्फत नेपाली श्रमबजार विस्तारको लागी यूकेसंग गरेको श्रम-सम्झौताको स्वागत गर्दै पोर्चुगल लगायतका देशहरुमा यो कार्य अघि बढेकोमा खुसी ब्यक्त गर्दै थप श्रम गन्तब्यलाई नीतिगतरुपमा अघि बढाउन अनुरोध गर्ने निर्णय गर्दछ । साथै विभिन्न कारणले युरोपमा आएर अलपत्र परेका नेपालीहरुको सहयोगको लागि गैरआवासीय नेपाली संघका तर्फबाट एनआरएनए यूरोप राहत कोषको स्थापना गर्ने र सो कोष निर्माणको लागि आगामी दुई महिनाभित्र छुट्टै नियमावलीको निर्माण गरिनेछ ।
१०. युरोपमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको कुनै कारणले आकस्मिक निधन हुँदा शव अलपत्र पर्ने अवस्थालाई ध्यानमा राख्दै त्यसरी निधन भएका व्यक्तिहरूको शवलाई नेपाल लैजाने व्यवस्था गर्न नेपाल सरकारलाई यो बैठक अनुरोध गर्दछ ।
११. गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई आफ्नो मातृभूमिमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विशेष योजना बनाइ अघि बढाइने छ।
१२. नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई नेपालका बैंकहरुमा डलर लगायतका विदेशी मुद्रामा खाता खोल्न सहज गरिदिएको प्रति यो बैठक धन्यवाद ज्ञापन गर्दछ। विदेशका बैंक र वित्तीय संस्थाहरुको तुलनामा आकर्षक व्याज पाइने, आफुले चाहेको बेला आफ्नो रकम फिर्ता पनि ल्याउन सकिने र नेपालको अर्थतन्त्रमा पनि भरथेग हुने यो अवसरबाट लाभ उठाउन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।
१३. वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष लाखौं नेपालीको सामाजिक सुरक्षासंग जोडिएको विषय भएकोले गैरआवासीय नेपाली संघले लामो समयदेखि त्यसका लागि पहल गर्दै आएको छ। अहिले नेपाल सरकार सामाजिक रोजगार सुरक्षा कोषको कार्यान्वयनका लागि सकारात्मक देखिएकाले यो क्षेत्रीय बैठक सरकारको त्यस निर्णयको स्वागत गर्दछ र वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष यथाशिघ्र कार्यान्वयनको माग गर्दै सबैखाले सहयोगका लागि गैरआवासीय नेपाली संघ प्रतिबद्धता जाहेर गर्दछ।
१४. बैठक सफलतापूर्वक सम्पन्न गर्न प्रमुख अतिथि, अतिथिहरु, सहयोगी सम्पूर्ण प्रायोजक, स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ । बैठक सफलतापूर्वक आयोजना गर्न निर्वाह गरेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् स्वीडेनलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । आगामी १५ औं यूरोपेली बैठक चेक गणतन्त्रको प्राग शहरमा आगामी वर्ष २०२३ को मे महिनामा आयोजना गर्ने निर्णय गर्दछ।
घोषणापत्र तैयारी समिति:
रामशरण सिमखडा
गंगाधर गौतम
चिन्तामणी सापकोटा
सन्तोष भट्टराई
पान कुमारी मल्ल
रमेश काफ्ले
चिरन शर्मा
भगीरथ योगी
ओम शर्मा
राजकुमार पाठक
आइतबार, २५ सेप्टेम्बर २०२२