काठमाडौं : आजबाट हिन्दु धर्माबलम्बीहरूको बडा दशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरेर तयार पारिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक आज जमरा राखिन्छ ।
घटस्थापनाको शुभ साइत आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ हिन्दु धर्मावलम्बीहरूले बडा दशैं मनाउने गर्छन । बडा दशैंको टिकाको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ । समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।
जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्रमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।