एमालेको मधेश मिसनः असन्तुष्ट फकाउने, प्रवेश गराउने

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार जनकपुर पुगेर जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई पार्टी प्रवेश गराए । जनकपुरमा रेल चढेर राष्ट्रिय सन्देश दिएका ओली आइतबार वीरगञ्ज आए । यहाँ पनि ओली पार्टी प्रवेश गराउन आएका हुन् । वीरगञ्जमा ओलीले गएको स्थानीय चुनावबाटै पार्टी प्रवेशलाई प्राथमिकतामा राखेका छन् । 

वीरगञ्ज महानगरपालिकामा मेयरकै उम्मेद्वार पार्टी प्रवेश गरेर आएका विजय सरावगी थिए । सरावगीले जसपा छोडेर एमालेबाट उम्मेद्वार बनेपनि जित्न भने सकेनन् । फेरि पनि चुनाव भने जसपाबाट उम्मेद्वार रहेका राजेशमान सिंह नै भए । विजय एमाले प्रवेश गरेपछि उनी लोसपाबाट जसपातिर लागेका थिए । 

विजयपछि अन्य नेताहरु पनि एमाले प्रवेश गराइरहेका छन् । जनकपुरमा पनि ओलीले जसपा र लोसपाकै नेताहरु एमाले प्रवेश गराएका थिए । उमा शंकर अरगरिया, अमृता अग्रहरी लगायत संघीय सांसदले नै एमाले प्रवेश गरेका छन् । मधेश प्रदेशको एमालेमा अहिले नवप्रवेशी लहर नै चलेको छ । नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका प्रभु साह प्रवेश गर्नेहरुमा उच्च तहका नेता हुन् । 

रौतहटमा राम्रो प्रभाव रहेका साहले ५ प्रदेशसभा सदस्य सहित यसअघि एमाले प्रवेश गरेका थिए । त्यसपछि अन्य दलबाट पनि प्रवेश गराउने क्रम चलिरहेको छ । एमालेले पार्टी प्रवेश गर्नेको संख्या लाख नाघिसकेको दावी गरेको छ । त्यस मध्ये मधेश प्रदेशमै धेरै छन् । तराई मधेश केन्द्रीत दल जसपाभित्र देखिएको विवाद, लोसपाको अस्थिरता र सत्तारुढ गठबन्धनमा उत्पन्न संघर्षको लाभ एमालेले उठाउँदै आएको छ ।

एमालेले पार्टी विभाजनको क्षति प्रवेश गर्नेहरुबाटै पूर्ति गर्ने दावी नै गर्दै आएको छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित ठूलो समूहले गएको वर्ष विद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

अलग पार्टी बनाउँदा २३ जना प्रतिनिधिसभा सदस्य, ५३ जना प्रदेशसभा सदस्य र ५५ जना केन्द्रीय सदस्यले एमाले त्यागेका थिए । त्यो पूर्ति प्रवेशबाटै गराने दावी एमालेको छ । तर गएको स्थानीय चुनावको नतिजाले भने विभाजनको क्षति प्रवेशबाट पूरा भएको देखिदैन । किनकि २०७४ मा पनि कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि एमाले पहिलो दल बनेको थियो । यसपटक कांग्रेस पहिलो शक्ति बनिसकेको छ । 

Leave A Reply

Your email address will not be published.