आजदेखि अस्थायी मतदाता नामावली संकलन

0

काठमाडौं : आज (बिहीबार)देखि अस्थायी मतदाता नामावली संकलन गर्ने निर्वाचन कार्यतालिका छ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने चुनावका लागि निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको हो ।

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ । यस्ता मतदाताले प्रदेश सभा तर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् । 

थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न (प्रदेश÷जिल्ला निर्वाचन अधिकारी) को सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनु पर्नेछ ।

अस्थायी मतदाताको विवरण रुजु गरी कात्तिक १ गते सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने तालिका छ ।

कात्तिक ४ गते प्राप्त निवेदन उपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेश गर्ने, दाबी विरोधको निवेदन उपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संकलित अस्थायी मतदाता नामावली तथा निर्धारित मापदण्डका आधारमा अस्थायी मतदान केन्द्रको सिफारिस जिल्ला तहमा रहेको अस्थायी मतदाता नामावली संकलन तथा व्यवस्थापन समितिले गर्नेछ ।

Leave A Reply

Your email address will not be published.