काठमाडौं : नेपाल साफ महिला च्याम्पियसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतविरुद्ध १-० को ऐतिहासिक जित निकाल्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि नेपालले महिला साफमा भारतलाई हराउँन सकेको थिएन ।
नेपालको जितमा रश्मीकुमारी घिसिङले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफको इन्ज्युरी समयमा प्रिती राईको क्रसलाई घिसिङले गोलमा परिणत गरेकी हुन् । खेलमा भारतले पनि थुपै गोलको अवसर पाएको थियो तर, सदुपयोग गर्नबाट भने चुक्यो ।
साफ महिला च्याम्पियसिपमा भारतविरुद्ध यो नेपालको ऐतिहासिक जित हो । यसअघिका चार फाइनल र एक सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दा नेपालले भारतविरुद्ध साफ च्याम्पियनसिपमा जित निकाल्न सकेको थिएन ।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगिसकेको छ ।