देशभर बिरामी छन्, सरकार कहाँ छ ?

0

काठमाडौं : काठमाडौं लगायत देशभर डेंगुको प्रकोप फैलदाँ समेत सरकार अझै बेखबर छ । देशभरका स्वास्थ्य संस्था, अस्पतालमा बेड नपाउने अवस्था आउँदा समेत सरकारले उचित पहल नगरेको विरामीहरुको गुनासो छ । 

अहिले देशभरबाट १० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । यही हप्ता मात्रै टेकु अस्पतालमा दुई जनाको मृत्यु भएको थियो भने परीक्षण गरिएका ८० प्रतिशत बिरामीमा डेंगु पुष्टि पनि भएको छ । यतिसम्म कि अस्पतालमा बिरामीको चाप बढेर उपचार नै नपाउने अवस्था छ । ‘बेड पाउनै मुस्किल रहेछ ।’ उनको परिवारमा चार जनालाई डेंगु भएको रहेछ । तीन जनाको टेकुमै उपचार भइरहेको थियो । ‘बुबालाई डिस्चार्ज गरेको । तीन जनाको यहीँ उपचार भइरहेको छ,’ टेकु अस्पतालमा श्रीमानको उपचार गराइरहेकी मनिता शर्माले भनिन् । सन्, २०१९ मा पनि डेंगुले प्रकोपको रूप लिदाँ करिब १८ हजार संक्रमित भएका थिए । तर, यो पटक डेंगु संक्रमितको संख्या उच्च देखिदाँ रेकर्ड ब्रेक हुने चिकित्सकहरु बताउँछन् । 

‘बालबालिकादेखि ७० वर्षसम्मका बिरामी आउनुभएको छ । घरमा एक जनालाई डेंगी भएपछि अरूलाई पनि सरेको देखिन्छ, महामारीले अझै केही समय लिने निश्चित छ’ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने । साथै उनले टाउको, हात, खुट्टा दुख्ने,‍ खान मन नलाग्ने र वान्ता भएर गाह्रो भएमा तत्कालै अस्पताल आउन पनि सुझाव दिएका छन् । 

‘मानिस आफैँ सुरक्षित भएर झुल टाँगेर सुत्नुपर्छ । टायर सफा गर्ने, पानी जम्ने ठाउँ सफा गर्ने ग¥यो भने डेंगुको आउट ब्रेकलाई रोक्न मद्दत गर्छ, ‘पहिले बाहिर मात्र टोक्ने गथ्र्यो । अहिले घरभित्रै एडिस लामखुट्टे छिरेको छ । पर्दा मुनिबाट पनि टोक्न सक्छ’ डा अनुप बाँस्तोलाले भने । उनले अब, चिसोयाम सुरु हुनेबित्तिकै यसको प्रकोप कम हुने पनि बताएका छन् । 

डेंगुका बिरामीले जथाभावी पेनकिलर, सिटामोल जस्ता औषधि प्रयोग गरिरहेकाले चिकित्सकको सल्लाहअनुसार मात्र प्रयोग गर्न उनीहरुको सुझाव छ । बरु, ज्वरोँ घटाउन झोलिलो खानेकुरा खानुपर्ने उनीहरुको भनाई छ । डेंगुको महामारीले देशभरका अस्पताल भरिए पनि यसको नियन्त्रणका लागि सरकारले अझै ठोस कदम चालेको छैन । बरु, सरकार बेखबर बनेर नागरिकलाई झनै सास्ती दिइरहेको छ ।  

Leave A Reply

Your email address will not be published.