तालमेलमा अनिच्छा, प्रवेशमा जोड 

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार चितवन पुगेर नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता प्रवेश गराएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गराएको नेताहरुले दावी गरेका छन् । ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीतलाई एमाले प्रवेश गराएका हुन् । 

परियार चितवन जिल्ला सहइन्चार्ज थिए । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा पनि जिल्ला अध्यक्ष थिए । नेकपाको एकता प्रक्रिया भंग भएपछि परियार माओवादी केन्द्रतिर लागेका थिए । बिहीबार अध्यक्ष ओलीले चितवन गएर परियारलाई एमालेमा प्रवेश गराए । 

उनी ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीबाट चितवन–१ मा उम्मेद्वार थिए । तर एमालेकै लालमणि चौधरीसँग पराजित भएका थिए । उनी माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा सिफारिस नै भएका थिए । आगामी चुनावमा चितवन–३ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेद्वार सिफारिस भएका थिए । 

तर बिहीबार उनी एमालेमा प्रवेश गरे । माओवादी केन्द्रबाट चितवनमा प्रभाव राख्ने नेता पार्टी प्रवेश गराउन सफल भएपछि अध्यक्ष ओली उत्साहित देखिएका थिए । परियारलाई पार्टी प्रवेश गराएपछि ओलीले एमाले परिपक्क अवस्थाको अभिमन्यू भएको दावी गरे । 

ओलीले आउने असोज ८ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद नै एमालेमा प्रवेश गराउने तयारी छ । लोसपाका सचेतक रहेका उमाशंकर अरगरियालाई ओलीले जनकपुर पुगेर एमालेमा प्रवेश गराउने भएका हुन् । अरगरियाले गएको ०७४ सालमा तत्कालीन समाजवादी पार्टी, नेपालबाट चुनाव जितेका थिए । 

धनुषा–२ बाट चुनाव जितेका अरगरियाले जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने लोसपा रोजेका थिए । उनी राजपासँग एकता भएपछि जसपाका सांसद भएका थिए । तिनै सांसद अरगरिया एमाले प्रवेश गर्ने भएका हुन् । एमालेले पार्टी प्रवेशलाई प्राथमिकतामै राखेका छन् । 

शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग भएसँग एमाले समेत विभाजित हुन पुगेको थियो । एमालेबाट पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित नेताहरुले एकीकृत समाजवादी गठन गरेका छन् । तर एमालेको एकता जोगाउन पहल नगरेका ओलीले पार्टी प्रवेशलाई भने यसअघिबाटै जोड दिदै आएका छन् । गएको स्थानीय चुनावमा जनकपुर, नेपालगञ्ज लगायत स्थानीय तहमा पनि पार्टी प्रवेश गराएर उम्मेद्वार बनाएका थिए । 

Leave A Reply

Your email address will not be published.