दार्चुला बाढी : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो, बेपत्ता १० जनाको अवस्था अझै अज्ञात

0

दार्चुलामा बाढी पहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ । शुक्रवार रातिको पानीले महाकाली नदी थुनिएर बनेको ताल बग्न थालेपछि जोखिम केही घटेको छ ।

लास्कु जलाधारमा ठूलो पानी परेपछि खसेको पहिरोले नदी थुनिएपछि जोखिम बढेको थियो । बाढीले दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ ।

महाकालीका चालिस भन्दा धेरै घर जोखिममा रहेका छन् । महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ ।

बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति पुर्‍याएको छ । सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ ।

लास्कु खोलामा आएको बाढीले एउटा झोलुङ्गे पुलपनि बगाएको छ । बाढीपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ ।

बाढी/पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमती कार्की तथा नौगाड गाउँपालिका–१ की ३२ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ६८ वर्षीय मोहनराम पार्की छन् ।

बाढीमा बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । लास्कु र डुङरीका १० जना बेपत्ता भएका हुन् ।

बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् ।

घटनामा घाइते भएका आठ जनाको जिल्ला अस्पतालमा उपचार जारी छ ।

बाढी/पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री बोकेर सेनाको हेलिकप्टर गएको छ ।

उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडु, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली पनि सदरमुकाम खलङ्गा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.