आज निजामती सेवा दिवस मनाइँदै

0

काठमाडौं : निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ आज मनाइँदैछ । 

दिवसमा अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । 

सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ । 

दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । 

प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निजामती कर्मचारीबाट सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका छन् ।

Leave A Reply

Your email address will not be published.