प्रहरीको गोली लागेर चारजना मारिए

0

भैरहवा, ३० भदौ । रुपन्देहीको भैरहवा-लुम्विनी सडकखण्डको वेथरीमा प्रर्दशनकारी र सुरक्षाकर्मीवीच झडप हुँदा ४ वर्षीय वालकसहित ४ जनाको मृत्यु भएको छ । झडपमा प्रहरीको गोली लागी स्थानीय ४ वर्षीय बालक चन्दन कुमार पटेल, गोनहा गाविस–६ का ४५ वर्षीय विनोद लाकौल, मर्चवार वढेरीया निवासी वर्ष १३ की रञ्जना सिंह क्षेत्री, गोनाहा ६ वेथरी वर्ष ४० का राजकुमार बरईको ज्यान गएको हो ।
सुरक्षाकर्मीद्धारा लुम्विनी औद्योगिक कोरिडोरका मालवहाक सवारी साधनलाई स्कर्टिङ गरी भैरहवातर्फ ल्याउनक्रममा बेथरीमा एक ट्रकले स्थानीय नन्दनी पाण्डेलाई ठक्कर दिएपछि स्थानीय र सुरक्षाकर्मीवीच झडप भएको थियो । ट्रकले ठक्कर दिएकी नन्दनीको अवस्था चिन्ताजनक रहेको छ । उनको टाउको, छातीमा गहिरो चोट लागेको छ । उनको अवस्था चिन्ताजनक छ ।
यसैगरी उक्त घटनामा मैनीहवाका ६० वर्षीया पुर्णपासी धोवी, हाटी वनगाई–१ की ५० वर्षीया सौगाती मुराऊ, सोही ठाउँकी ३० वर्षीया सुरसती मुराउ, वेथरीका २५ वर्षीय दीपेन्द्र साहनीको अवस्था पनि गम्भीर छ ।
झडपमा अन्य २४ जना प्रर्दशनकारी र २० जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् । उनीहरुको भैरहवास्थित जिल्ला अस्पताल तथा युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीतर्फ १७ जना र सशसत्र प्रहरीतर्फ ३ जना घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
लुम्विनी औधोगिक कोरीडोरबाट सुरक्षाकर्मीले स्कर्टिङ गरी भैरहवातर्फ ल्याउने क्रममा प्रर्दशनकारीले सशस्त्र प्रहरीको ना१ग ५४१ नम्बरको वानटन ट्रक र माल लु १ ख ७०७० नम्बरको ट्रकमाथि ढुंगामुडा गरी पेट्रोलसँगै आगो फालेका थिए ।
त्यसपछि स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको सुरक्षाकर्मीले जनाएका छन् । सुरक्षाकर्मीले दर्जनौ सेल अश्रृग्यास, रबरको गोली र राइफलको गोली चलाएको छ । ठक्कर दिने र स्कर्टिङमा रहेका मालबाहक गाडीमाथि ढुंगामुडाका साथै बोत्तलमा पेट्रोल बालेर आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन बाध्य भएर गोली चलाउनु परेको प्रहरी उपरीक्षक ढकालले बताए ।
घटनास्थल भैरहवा सदरमुकामदेखि ५ किलोमिटर पश्चिम लुम्बिनी रोडमा पर्दछ । घटना नियन्त्रणमा लिन भैरहवा र बुटवलबाट ठूलो संख्याका सुरक्षाकर्मी घटनास्थल वेथरीमा तैनाथ छन् । जिल्ला सुरक्षा समितिले घटनास्थल वेथरीको पुर्व वनगाई, पश्चिम वरेवा रोड, उत्तर दुर्गा मन्दिर र दक्षिण कालीमाई मन्दिर क्षेत्रभित्र हिजो साँझ ८ बजेदेखि बुधवार विहान १० वजेसम्मका लागि कफूर्य आदेश जारी गरेको छ ।

Leave A Reply

Your email address will not be published.