भारतीय सेना प्रमुख पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै

0

काठमाडौं : भारतीय सेना प्रमुख मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिँदै छ । 

उनलाई आज अपराह्न तीन बजे शितल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ । 

नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् । 

पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । 

भारतीय सेना प्रमुखले आज सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि छ । उनलाई नेपाली सेनाको मुख्यालय जंगीअड्डामा गार्ड अफ अनर पनि दिइँदैछ । 

सो अवसरमा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई हुने सहयोग पनि घोषणा हुँदैछ । आजै साँझ जंगीअड्डामा पाण्डेको सम्मानमा रात्रिभोज कार्यक्रम छ । 

मंगलबार सेना प्रमुख पाण्डेले सगरमाथा आधार शिविरको भ्रमण गर्ने कार्यतालिका छ । उनले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने कार्यक्रम छ । 

मंगलबार नै उनले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम पनि छ । साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको कार्यक्रममा उनी सरिक हुनेछन् । 

बुधबार उनी मुक्तिनाथ मन्दिर दर्शनका लागि जाने छन् । त्यही क्रममा उनी नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर पोखरामा पुग्नेछन् । 

सोही दिन वसन्तपुरस्थित हनुमानढोका जाने कार्यक्रम पनि तय भएको छ । नेपाल भ्रमण सकेर उनी बिहीबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.