समानुपातिकतर्फ उम्मेदवारी दर्ता आजबाट, भदौ १२ गतेसम्मको समयसीमा निर्धारण

0

काठमाडौं : निर्वाचन आयोगले आजबाट समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलको निवेदन लिन शुरु गर्दैछ ।

आयोग परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले निवेदन दर्ता गराउन सक्नेछन् ।

प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेझैं समानुपातिकतर्फ राजनीतिक दल उम्मेदवार भई मनोनयन दर्ताका लागि निवेदन दिनुपर्नेछ ।

आयोगले निवेदन दर्ताका लागि भदौ १२ गतेसम्मको समयसीमा तोकेको छ । आयोगले गत साउन २२ देखि ३१ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए ।

एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलले सबै दलको केन्द्रीय समितिको संयुक्त वा अलग–अलग रूपमा निवेदन दिन पाउने व्यवस्था छ ।

दलले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै र प्रदेश सभा सदस्यको समानुपातिकतर्फ प्रत्येक प्रदेशका लागि छुट्टै निवेदन दिनुपर्नेछ ।

आयोगको निर्वाचन कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी असोज २ र ३ गते पेस गर्नुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.