पासवानको स्वास्थ्य नाजुक

0

काठमाडौँ, २९ भदौ । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बस्दै आउनुभएका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि अनशन बस्दै आउनुभएका पासवानलाई डाक्टरले आइसियुमा राख्नुपर्ने सुझाव दिएका छन् । उहाँको स्वास्थ्यमा पिसाव, मिर्गौला, सुगर, प्रेसरलगायतका समस्या देखिएको दलित अधिकार सङ्घर्ष समितिका अध्यक्ष तथा पूर्वसभासद् विनोद पहाडीले जानकारी दिनुभयो ।
सभासद् पासवान राज्यका सबै अङ्ग, तह, निकाय र संरचनामा १४ प्रतिशत दलित, १५ प्रतिशत पिछडा वर्ग, १० प्रतिशत मुस्लिम र ३७ प्रतिशत आदिवासी जनजातिको आरक्षित कोटाको संवैधानिक सुनिश्चितता गरिनुपर्ने र भ्रष्टाचारी तथा बलात्कारीलाई कडा कानुन बनाएर लागू गर्नुपर्नेलगायतका माग गरेर आमरण अनशन बस्दै आउनुभएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले औपचारिक रूपमा पत्र पठाएर अनशन तोड्न आग्रह गरे पनि अनशनकर्मी पासवानले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै आउनुभएको छ । सो पार्टीका नेता दिनेश परियारले आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोर ठानेको भन्दै चाँडोभन्दा चाँडो आफ्ना माग पूरा नगरिए अझै कडा सङ्घर्षमा उत्रने चेतावनी दिनुभयो ।
कानुन, न्याय, संविधानसभा, तथा संसदीय मामिलामन्त्री नरहरि आचार्य, वन तथा भू–संरक्षणमन्त्री महेश आचार्य, सभासद् कमला पन्त, जीवन परियार र सुजाता परियारलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अनशनस्थल पुगी अनशन तोड्न आग्रह गर्नुभएको थियो ।
आफूहरू बसिरहेको अनशनस्थलमाथि शनिबार बेलुका आक्रमण गरिएको भन्दै सो पार्टीले आइतबार पत्रकार सम्मेलन गरी भत्र्सनासमेत गरेको थियो । शनिबार आयोजना गरिएको हिन्दूवादी सङ्घ सङ्गठनको जुलुसको आक्रमणबाट सभासद् पासवान, दिनेश परियार, गोकर्ण सुनार, शम्भु रसाइली, नरहरि चन्दलगायतका करिब एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएको उपाध्यक्ष राधेश्याम पासवानको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.