कांग्रेस नेता प्रदीप गिरी रहेनन्

0

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । गिरिको उपचारका क्रममा शनिबार राति ९ः३०मा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । 

भारतमा क्यान्सरको उपचार गरेर गिरिलाई फेरि समस्या देखिएपछि एक महिना अगाडि मेडिसिटी भर्ना भएका थिए । उनलाई क्यान्सरकै समस्यासँगै निमोनिया देखिएपछि अवस्था गम्भीर बनेको थियो । शनिबार दिउँसो मात्रै उनको परिवारले गिरिको एकपछि अर्को अंगले काम गर्न नसकिरहेको उल्लेख गरेको थियो । 

७५ वर्षीय गिरि नेपाली कांग्रेसका सांसद हुन् । ०७४ मा वाम गठबन्धन हुँदा पनि गिरिले चुनाव जितेका थिए । कांग्रेसको केन्द्रीय कार्य समितिमै बसेर काम गरेका गिरिले लाभको पद भने लिएनन् । उनी सांसद जिते पनि शासकीय सुविधामा जान चाहेनन् । 

मार्क्सवादी दर्शनका अध्येता गिरिलाई नेपाली राजनीतिले दार्शनिक व्यक्तिका रुपले चिन्थ्यो । परिवर्तनका पक्षमा सम्झौतारहित ढंगले प्रस्तुत हुने गिरि कांग्रेसभित्र लोकतान्त्रिक समाजवाद र साम्यवादी समाजवाद बीचको भेद प्रष्ट ढंगले व्याख्या गर्न सक्थे । कांग्रेसमा पनि सभापति शेरबहादुर देउवालाई साथ दिए पनि गिरिको व्यक्तित्व कांग्रेसभित्र सीमित थिएन । राजनीतिक, दार्शनिक, साहित्यिक अनेक क्षेत्रमा गिरि व्याख्या गर्न सक्थे ।

Leave A Reply

Your email address will not be published.