चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

0

काठमाडौं : चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको चिङ्दाओमा बुधबार साँझ भेटवार्ता भएको थियो । दुई देशका प्रतिनिधिमण्डलबीच दर्जन बढी विषयमा सहमति भएको भेटवार्तापछि बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुई मन्त्रीले विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनीहरू नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन सहमत भएका छन् । त्यसमा चिनियाँ पक्षले नेपाली प्रतिनिधिमण्डललाई चीनले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।

Leave A Reply

Your email address will not be published.