असमानरुपमा तलब बढाएको विरोधमा आज देशभरका नासुहरु बिदामा बस्दै

0

काठमाडौं : सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बाहरु आज बिदामा बस्ने भएका छन् ।

बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सोमबार पेन डाउन गरेर काम ठप्प बनाएका उनीहरु आज बिदामा बस्न लागेका हुन् । आज बिदामा बसेर सांकेतिक रुपमा सरकारको विरोध गर्ने र निर्णय फिर्ता नभए थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

असन्तुष्ट कर्मचारीहरुले सोमबार सिहंदरबारको अर्थ मन्त्रालयमा भेला भएर असमान तलब वृद्धिको विरुद्ध प्रदर्शन गरेका थिए ।

असमान तलब वृद्धि फिर्ता र प्रस्तावित संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने माग कर्मचारीहरुको छ ।

चालू वर्षको बजेटबाट सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिका कर्मचारीको तलब २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि कर्मचारीमा असन्तुष्टि चुलिएको छ ।

यद्यपि निजामती सेवाका केही पदमा बजेटमा घोषणा गरिएभन्दा बढी तलब वृद्धिको प्रस्ताव भएकोमा सरकारले त्यसलाई अघि नबढाउने प्रतिबद्धता जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सोमबार कर्मचारी संगठनका नेतासँथ सबै किसिमका कर्मचारीको तलब बजेटमा घोषणा गरिएअनुसारकै हुने बताएका हुन् ।

तलबमानका विषयमा असन्तुष्टि चर्किएपछि सरकारले तलब पुनरवलोकन आयोग गठनलाई तीव्रता दिने भएको छ ।

Leave A Reply

Your email address will not be published.